मन्त्रिपरिषद् बैठक सुरू, खतिवडा मन्त्री क्वाटर छाड्ने तयारीमा

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तीका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति समक्ष सिफारिस गर्ने छ । मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुने छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफसिर गर्ने निर्णय गरेको थियो । ६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ ।

यसै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा विदाइ हुँदैछन् । स्रोतले दिएको जानकारी अनुसार आफू मन्त्रीबाट हट्ने पक्का भएपछि खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी थालिसकेका छन् । खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ।

यसैबीच अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउने चर्चा समेत चल्न थालेको छ ।