कहिले आउला कोरोनाको भ्याक्सिन, कति पर्ला मूल्य ?

काठमाडौँ । गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) विश्वभर फैलिसकेको छ।

आज बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६ लाख नाघेको छ। ८ लाख ७५ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। कोरोनासँग लड्ने कुनै पनि किसिमको भ्याक्सिन वा औषधि अहिलेसम्म बन्न सकेको छैन।

गएको अगस्ट ११ मा रुसले कोरोनाको पहिलो भ्याक्सिन स्पुतनिक–भी तयार गरेको दाबी गर्‍यो। मेडिकल साइन्समा एउटा ठूलो सफलता हासिल गरेको उसको दाबी छ। तर, आलोचकहरुले भने क्लिनिकल ट्रायलको तेस्रो चरण नै पूरा नगरी तयार भएको भ्याक्सिन सफल नहुने दाबी गरिरहेका छन्।

विश्वका थुप्रै देशमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास भइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ३४ वटा कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेका छन्। यीमध्ये सातवटा भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल जारी छ।

३ वटा कम्पनी तेस्रो चरणको परीक्षणमा छन्। डब्लुएचओका अनुसार अन्य १४२ वटा कम्पनी पनि कोरोनाको भ्याक्सिन बनाइरहेका छन्, जुन प्रि–क्लिनिकल चरणमा छन्।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार अक्सफोर्ड युनिभर्सिटीले तयार गरेको भ्याक्सिन अहिलेसम्मको सबैभन्दा उन्नत भ्याक्सिन हो। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गैलाघर भन्छन्, ‘जानकारहरुका अनुसार उक्त भ्याक्सिन २०२१ को मध्यसम्ममा आम मानिसका लागि उपलब्ध हुनेछ।’

केही महिनामै कोरोनाको भ्याक्सिन बन्नेमा वैज्ञानिकहरु आशावादी छन्। तर सँगै यसको मूल्यको विषयमा पनि सर्वत्र चासो छ। साथै कोरोना भाइरसबाट पूर्ण रुपमा बच्न कतिपटक भ्याक्सिन लगाउनुपर्ला भन्ने चिन्ता पनि छ।

कुन भ्याक्सिनको कति पर्ला ?

एस्ट्राजेनेकाको भ्याक्सिन

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन बनाइरहेको कम्पनी एस्ट्राजेनेकाले सुलभ मूल्यमा आम मानिसका लागि भ्याक्सिन उपलब्ध गराउने बताएको छ। भ्याक्सिनबाट नाफा नकमाउने पनि उसको दाबी छ।

गत महिना कम्पनीका मेक्सिको प्रमुखले ल्याटिन अमेरिकी देशमा एस्ट्राजेनेकाको भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलरभन्दा कम हुने बताएका थिए।

भारतमा उक्त भ्याक्सिन बनाइरहेको कम्पनी सीरम इन्स्टिच्युटले भारत तथा विकासशील देशका लागि भ्याक्सिनको मूल्य प्रतिडोज ३ डलर हुने बताएको छ।

उता, अष्ट्रेलियाले कोरोनाको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क दिने बताएको छ।

सनोफी पाश्चरको भ्याक्सिन

फ्रान्सस्थित सनोफीका प्रमुख ओलिवियर बोगिलोटले पाश्चरको भ्याक्सिनको मूल्य प्रतिडोज १० युरोभन्दा कम हुने बताएका छन्। अर्को महिना ९अक्टोबर०देखि भ्याक्सिन उत्पादन हुने उनले बताएका छन्।

चिनियाँ कम्पनी साइनोफार्मको भ्याक्सिन

चीनको औषधि कम्पनी साइनोफार्मका अध्यक्ष लिऊ जिंन्गजेनका अनुसार कम्पनीले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भइसकेको छ।

बजारमा आउँदा यसको मूल्य प्रतिडोज १ हजार चिनियाँ युआनभन्दा कम हुने उनले बताएका छन्। कम्पनीका अध्यक्ष आफैंले एक डोज भ्याक्सिन लगाएको र त्यसको कुनै साइड इफेक्ट नभएको बताइएको छ।

मोडर्नाको भ्याक्सिन

मोडर्नाले बनाएको कोरोना भ्याक्सिन ३३ देखि ३७ डलरमा उपलब्ध हुने बताइएको छ। कोरोना महामारी रहुन्जेल सकेसम्म कम मूल्यमा भ्याक्सिन उपलब्ध हुने कम्पनीले बताएको छ।

फाइजरको भ्याक्सिन

यस वर्षको जुलाईमा अमेरिकी सरकारले कोरोना भ्याक्सिनका लागि फाइजर तथा बायोएनटेक कम्पनीलाई झन्डै २ अर्ब डलर दिएको थियो। आफूले उत्पादन गरेको भ्याक्सिन सरकारलाई प्रतिडोज १९।५० डलरमा बेच्ने कम्पनीले बताएको छ। आम मानिसलाई भने यसको मूल्य ४० डलरसम्म पर्ने अनुमान छ।