आज तानिने भयो रातो मत्स्येन्द्रनाथको रथ

काठमाडौँ । झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य आज हुने भएको छ । आज दिउँसो ४ बजे पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।

कोरोनाको महामारीसँगै लगाइएको निषेधाज्ञालाई वेवास्ता गर्दै भदौ १८ गते बिहीबार स्थानीयको ठूलो भीडसहित रथ तान्ने प्रयास भएको थियो।

उक्त भिडलाई रोक्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । उक्त झडपपछि रोहिएको रथ आज केहि मिटर मात्रै तान्न लागिएको हो ।

रथ तान्ने दिनलाई पाटनबासीले ‘छोय्ला बु’ भनी पर्वको रुपमा मनाउने गर्छन् । परम्पराअनुसार ‘छोय्ला बु’ पुल्चोकबाट रथ गाःबहाल पुगेपछि गाःबहाल क्षेत्र वरिपरिका टोलबासी, सुन्धारा र लगनखेल पुगेपछि आ–आफ्नो क्षेत्रका बासिन्दाले मनाउँछन् ।

तर, यस वर्ष कोभिड–१९ का कारणले गाःबहाल, सुन्धारा र लगनखेल क्षेत्रका सबैले आइतबार मनाएका छन् ।

यस वर्ष नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । रथ यात्रा गर्न शनिबार मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए ।