सन्न्यास लिएपछि दोषी ठहर भए वेस्ट इन्डिजका क्रिकेटर मार्लोन

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर हुन्, मार्लोन सामुएल्स । अलराउन्डर सामुएल्सले आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै पनि विवादमा परेनन् । उनले सन् २०२० मा खेल जीवनबाट सन्न्यास लिएका थिए ।

४२ वर्षीय यी अलराउन्डर अहिले आएर आर्थिक अनियमितामा दोषी ठहर भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आर्थिक अनियमितताको विषयमा छानबिन गर्न गठित स्वतन्त्र समितिले सामुएल्सलाई दोषी ठहर गरेको हो ।

सामुएल्सले इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) को आर्थिक अनियमितता सम्बन्धी चारवटा नियम उल्लंघन गरेको समाचारमा जनाइएको छ । उनीमाथि सन् २०२१ को सेप्टेम्बरमा आर्थिक अनियमितता गरेको भन्दै आईसीसीमा उजुरी परेको थियो ।

सन् २०१९ मा आबुधाबीमा ‘टी टेन’ फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । त्यो प्रतियोगिता ईसीबीले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सामुएल्सले कणरटका टस्करबाट खेल्न सम्झौता गरेका थिए ।

टोलीमा उनको नाम पनि समावेश गरिएको थियो । तर, अन्तिम समयमा आएर उनले अप्रत्यासित रुपमा प्रतियोगिता नखेल्ने घोषणा गरे । कर्णाटका टस्करको तर्फबाट उनले एक खेल पनि खेलेनन् । उनले अन्य टोलीको प्रभावमा परेर प्रतियोगिता नखेलेको आरोप लगाइएको छ ।

सामुएल्सले आफ्नो सक्रिय खेलजीवनमा ७१ टेस्ट खेल्दै तीन हजार नौ सय ७१ रन बनाएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनले सर्वाधिक दुई सय ६० रन बनाएका थिए । उनले दुई सय सातवटा एक दिवसीय खेलमा कुल पाँच हजार ६ सय ६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय ३३ रन हो ।

यसैगरी टीट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा ६७ खेल खेल्दै कुल एक हजार ६ सय ११ रन बनाएका छन् । टीट्वान्टी प्रतियोगितामा उनको उच्च स्कोर अविजित ८९ रन हो । उनले टेस्टमा सात सतक र २४ अर्धसतक, एकदिवसीयमा १० सतक र ३० अर्धसतक तथा टीट्वान्टी अन्तर्राष्ट्रियमा १० वटा अर्धसतक प्रहार गरेका छन् ।