आफ्नै संवेदनशील अंग काटेर एक युवा अस्पताल पुगेपछि….

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ का एक युवाले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन्।

मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

हेटौंडा १० बसपार्कमा रहेको फूलबारी होटल एन्ड लजको १ नम्बर कोठामा बसेका हुमागाईंले आफ्नै संवेदनशील अंग काटेपछि घाइते भएका हुन्। गएराति करिब १० बजेतिर घाइते भएका उनी करिब दुई घण्टापछि उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए। हेटौंडा अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको छ।

उनको अहिले भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हुमागाईंले आफैंले आफ्नो संवेदनशील अंग काटेको प्रहरीलाई जानकारी दिएका छन्। सुतिरहेको अवस्थामा बिच्छीले संवेदनशील अंगमा टोकेपछि शरीरमा विष फैलिन्छ भनेर उक्त भाग काटेको उनले प्रहरीलाई जानकारी दिएका छन्। ‘बुधबार राति १० बजेतिरको घटना हो। घाइते व्यक्ति उपचारको लागि अस्पताल पुगेपछि घटनाको बारेमा थाहा पाएका हौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) टेकबहादुर कार्कीले भने, ‘घाइतेले आफैंले काटेको बताएका छन्। बिच्छीले टोकोकोले विष सर्छ र मरिन्छ भनेर काटेको बताएका छन्। घाइतेलाई उपचारको लागि चितवन पठाइएको छ। थप विवरण आउन बाँकी छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको छ।’

अनुसन्धानको क्रममा उनी होटलमा एक्लै बसेको पाइएको कार्कीले बताए। घाइते हुमागाईं उपचारका लागि आफैं अस्पताल गएका थिए। उनी अहिले बोल्न सक्ने भएकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनी फुलबारी होटल एण्ड लजको १ नम्बर कोठामा बसेका थिए। यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।