गठबन्धनका बैठक लाइभ गर्नुपर्छ, के भयो जनताले थाहा पाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनका बैठक लाइभ गर्नुपर्ने र बैठकमा के भयो जनताले थाहा पाउनुपर्ने बताएका छन्।

‘कांग्रेस केन्द्रीय समिति बैठक मात्र होइन, गठबन्धनका बैठक लाइभ गर्नुपर्छ, के भयो जनताले थाहा पाउनुपर्छ,’ उनले भने, ‘कहिलेकाहीँ प्रतिपक्षी दलका नेतासँग पनि बैठक हुने गर्छ। यस्ता बैठक लाइभ हुनुपर्छ, किनभने बैठकअधि एउटा भाषा, बैठकपछि अर्को भाषा सुनिने गरेको छ।’

हामीले सुन्यौं, गठबन्धनका नेताहरू बैठक बस्नुभयो। यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भयो रे भन्ने कुरा पढ्यौं,’ आइतबार झापाको शिवसताक्षी नगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘के गठबन्धन नेताहरू बसेर यो विषयमा छलफल वा निर्णय लिन पाउनुहुन्छ ?’

सर्वोच्च अदालतले मन्त्रिपरिषदका नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने तयारी भइरहेको थियो।