कागबेनीमा बाढीले पुरेको भाग खोतल्दा भेटियो बैंकको डेढ करोड भन्दा बढी रुपैयाँ

 

काठमाडौं । गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको छ।

ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

‘प्रभु बैंकको भवन नै बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर फेला परेको हो। लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ रहेको जानकारी बैंकले दिएको थियो,’ प्रजिअ केसीले भने।

बाढीले इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको थियो। बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए।

‘नेपाली सेना, प्रहरी र स्थानीयबासी सबै मिलेर भग्नावशेष खोतल्ने, सामानहरू निकाल्ने गरिरहेका थियौं। त्यही क्रममा आज दिउँसो २ बजेतिर १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ राखिएको लकर फेला पारेका छौं। पैसा बैंकले बुझिसकेको छ,’ उनले भने, ‘लकर बाहिर पाँच-दस रुपैयाँ केही थान नोट फेला परेका थिए। तीचाहिँ पानीले भिजेको अवस्थामा थिए।’

कागबेनी विस्तारै लयमा फर्कं गरेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले बताए।

‘अहिले तीनवटै सुरक्षा निकाय, स्थानीय संघ–संस्था मिलेर भग्नावशेष पन्छाउने र गेग्रान सफा गर्ने काम भइरहेको छ। जनजीवन सामान्य अवस्थामा फर्किइसकेको छ,’ उनले भने।

उनले खानेपानी र विद्युत आपूर्तिसमेत नियमित भइसकेको जानकारी दिए।

‘बाढी गएको भोलिपल्टैबाट खानेपानी नियमित भएको थियो। अहिले बाढीले बिगारेको सबै ठाउँमा बिजुली आपूर्ति नियमित भइसकेको छ। संघ–संस्थाको सहयोगमा राहत वितरणको काम पनि भइरहेको छ,’ उनले भने।