विश्वविजेता ओल्गालाई ट्रफी उचालेपछि भनियो – ‘तिम्रो बुबाको दुई दिनअघि नै मृत्यु भयो‘

काठमाडौं । आइतबार स्पेन इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक विश्व विजेता बन्यो। विश्वकपको उपाधि उचाल्दा स्पेनकी कप्तान ओल्गा कार्मोनाले गरेको एकमात्र गोल निर्णायक बन्यो।

उनै कप्तान ओल्गाले खेल सकिएपछि राम्रोगरी खुसी साँट्न नपाउँदै दुस्खका आँशु चुहाउनुपर्‍यो, जब उनको बुबाको मृत्यु भएको खबर दिइयो।

२३ वर्षीय रियल म्याड्रिडकी ‘लेफ्ट ब्याक’ ओल्गाका पिताको भने विश्वकप फाइनल हुनु दुई दिनअघि नै मृत्यु भएको थियो।

लामो समयदेखि बिरामी रहेका उनको बुबाको मृत्युबारे परिवारले उनलाई खेलअघि कुनै जानकारी गराएनन्। रोयटर्सका अनुसार उनको खेलमा असर नपरोस् भनेर परिवारले उनलाई बुबाको निधनको खबर नदिइएको हो।

स्पेनिस फुटबल संघले खेलपछि भन्यो, ‘ओल्गा कार्मोनासका बुबाको मृत्यु घोषणा गर्दा आरएफइएफ गहिरो दुस्ख व्यक्त गर्दछ’, उसले भन्यो, ‘विश्वकप फाइनलपछि फुटबलरले थाहा पाएको यो दुखद खबरप्रति हाम्रो गहिरो सहानुभूति छ। हामी गहिरो शोकमा परेकी ओल्गा र उनको परिवारको साथमा छौं। हामी तपाईंलाई माया पठाउँछौं। तपाईं स्पेनिस फुटबलको एक इतिहास हुनुहुन्छ।’

स्पेनिस मिडियाका अनुसार उनको परिवार र साथीहरूले उनलाई उक्त कुराको जानकारी नदिने निर्णय गरेका थिए। उनलाई खेलमा फोकस हुनका लागि यो खबर गोप्य राखेका थिए।

उनलाई खेलमा हौसला बढाउनका लागि उनकी आमा र दाजु-भाइ शनिबार अस्ट्रेलिया पुगेका थिए। उनको क्लब रियल म्याड्रिडले पनि ओल्गा र उनको परिवारप्रति गहिरो समवेदना सन्देश पठाएको छ।

ताजा अपडेट