इङ्लिस प्रिमियर लिग : वेस्ट हामसँग चेल्सी पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको हो ।

जारी सिजनको लिगमा दुई खेल खेलेको चेल्सीले एक बराबरी र एक हारको नतिजा निकालेको छ । समान खेल खेलेको वेस्ट हामले भने एक जित र एक बराबरीको नतिजा निकालेको छ । ‘लन्डन डर्बी’ को पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल सुरु भएको सातौँ मिनेटमै वेस्ट हामले अग्रता लिएको थियो । वेस्ट हामका लागि नाएफ अग्वेर्डले गोल गरेका थिए । खेलको २८औँ मिनेटमा चेल्सीका लागि कार्नी चुकवेमेकाले जवाफी गोल फर्काएका थिए । उनले चेल्सीका लागि गरेको यो पहिलो गोल हो । त्यसपछि दोस्रो हाफमा वेस्ट हामले दुई गोल थपेको थियो ।

दोस्रो हाफमा वेस्ट हामले करिब ३० मिनेट केवल १० खेलाडीको भरमा मैदानमा सङ्घर्ष गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा वेस्ट हामका लागि मिसेल एन्टोनियोले दोस्रो गोल गरेका थिए । ६७औँ मिनेटमा वेस्ट हामका नाएफ अग्वेर्ड दोहोरो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसअघि उनले खेलको १३औँ मिनेटमा पहिलो कार्ड पाएका थिए ।

यसैगरी दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा वेस्ट हामका लागि लुकास पाक्वेटाले तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलका क्रममा चेल्सीका खेलाडीले ७६ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका थिए । तर, केवल २४ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको वेस्ट हामले सजिलै नतिजालाई आफ्नो पक्षमा पार्‍यो ।