सुन तस्करी प्रकरण : सीप नभएको मान्छेले गाडी , ‘हाइज्याक’ गरे गन्तव्यमा पुग्दैन, दुर्घटना हुन्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन प्रकरणमा छानबिनको लागि बनाउने भनिएको आयोगको प्रतिवेदन प्रतिवदेनमै मात्रै सीमित हुने आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यसअघिको घटनालाई स्मरण गर्दै प्रतिवेदनलाई प्रतिवेदनमा मात्रै सीमित नगराउन आग्रह गरे ।

उनले भने, ‘अहिले छानबिन गरिरहेका निकाय कुनै दल विशेषका होइनन् । हामी सबैले बनाएका निकाय हुन् । तीनको हामीले मनोबल गिर्ने काम नगरौं । देशमा सुशासन दिलाउन प्रतिबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो ।’

शीर्ष नेताहरुबीचको बैठकलाई लिएर चर्चामा रहेका अनुसन्धान हराउने हो कि भन्ने आम चिन्ता रहेको बताए ।

उनले भने, ‘गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्छ । बीचैमा प्रक्रिया रोकेर कसैले सिप नभएको मान्छेले गाडी हाइज्याक गर्यो भने गाडी गन्तव्यमा पुग्दैन, दुर्घटना हुन्छ । त्यसैले तालिम प्राप्त राज्यका निकायहरुले अगाडि बढाएको छानबिन प्रक्रियालाई बीचमै अवरोध नहोस् ।’