कोशीका मुख्‍यमन्त्री थापा विरुद्ध परेको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ।

बुधबार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।

एमालले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराएको छ।

रिट निवेदनमा गैरसंवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सोमबार प्रदेशसभाका सभाध्यक्ष इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए।

न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ।

यसअघि पनि कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर बुझाएर मुख्‍यमन्त्री थापाले नियुक्ति लिएको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो। अदालतले सभामुखले कोही कसैलाई पक्ष विपक्ष भनी हस्ताक्षर गर्न नपाइने आदेश दिएपछि मुख्यमन्त्री थापाले सभामुख गौतमलाई राजीनामा गराई पुन विश्वासको मत लिएका हुन्।