ब्रिक्समा थपिए यी नयाँ ६ सदस्य राष्ट्र

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा गरेका छन् । यस वर्षको ब्रिक्स शिखर सम्मेलन आयोजक दक्षिण अफ्रिकाले सम्मेलनको अन्तिम दिन बिहीबार यस्तो घोषणा गरेको हो ।

विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र चीन, ब्राजिल, दक्षिण अफ्रिका, रूस र भारतबीचको संगठनमा अब ६ देश थपिएका हुन् ।

सन् २०२४ को जनवरी १ देखि पहिलो चरणमा साउदी अरेबिया, इरान, अर्जेन्टिना, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स (यूएई) ब्रिक्सको सदस्य बन्ने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सदस्यता विस्तार ऐतिहासिक भएको भनेका छन् । यस्तै, इथियोपियाका प्रधानमन्त्री अबी अहमदले आफ्नो देशको लागि यो उत्कृष्ट क्षण भएको बताएका छन् ।

पाँच सुरुका सदस्यले मात्रै विश्वको ४० प्रतिशत जनसंख्या र एकतिहाइ जीडीपी ओगट्ने ब्रिक्समा सामेल हुन ४० अन्य देशले इच्छा जनाएका थिए । २३ देशले भने पहिले नै निवेदन समेत दिएका छन् ।

अगस्ट २२ देखि भएको ब्रिक्स शिखर सम्मेलनमा अन्य ५० देशका नेता एवं राष्ट्र प्रमुख सहभागी भएका थिए ।