हिरासतमा रहेकी महिलालाई डीएसपीले बलात्कार गरेको आरोप लागेपछि….

काठमाडौं । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दिपककुमार राय माथि हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला आफुमाथि बलात्कार भएको महिलाले आरोप लगाएकी छिन्।

पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। अस्पतालको रेकर्डमा उनले प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा २० वर्ष जेलमा सडाउने धम्की दिएको लेखाएकी छिन्।

अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढे पछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी नै दिएकी छिन्। उजुरी अनुसार चैत ६ गते राति एक प्रहरीले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै डिएसपीको कक्षमा पुर्याएका थिए।

मादक पदार्थ सेवन गरेर बसेका डीएसपीले कुटपिट गर्दै मुख थुनेर बलात्कार गरेको र सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर पनि बलात्कार गरेको उजुरीमा उल्लेख छ।

एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले पनि पीडित महिला र आफूहरूसँग प्रहरीले गर्ने व्यवहार फरक रहेको वयान दिएका छन्। उनीहरुका अनुसार पीडित महिला दिनभरि कार्यालयको बरन्डामा बस्न पाउँथिन्। रात परेपछि मात्र हिरासतमा ल्याइन्थ्यो।

पीडित महिलाले भने बलात्कारको घटनाबारे कसैलाई नभनेमा अभियोगबाट छुटाइ दिने र नोकरीसमेत लगाइदिने आश्वासन दिएर प्रभावमा पारेको बताएकी छिन्।

पतिको हत्या आरोपमा उनी चैत ४ गते पक्राउ परेकी हुन्। उनका पतिको कात्तिक ६ गते मृत्यु भएपछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि महिलाले मंसिर ७ गते एउटा इन्स्योरेन्स कम्पनीबाट बिमा रकम प्राप्त गरेकी थिइन्। सोही प्रहरी कार्यालयले करेन्ट लागि भवितव्य मृत्यु भएको भनेर दिएको कागजातका आधारमा अर्को इन्स्योरेन्स कम्पनीमा रकम दाबी गरेपछि करेन्ट लगाएर मारेको भनी मुद्दा चलाइएको पनि उनको गुनासो छ।

जिल्ला अदालत सप्तरीबाट भएको आदेशविरुद्ध महिलाले उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन गरेकी छिन्।

गैरकानुनी रूपमा प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गते मात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको जाहेरीसमेतको आधारमा ज्यानसम्बन्धी कसुरको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको उनका कानुन व्यवसायी दुर्गानन्द चौधरीले बताए।

अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिँदा आरोपित अन्य दुई महिलाले स्वास्थ्य परीक्षण गराए पनि पीडित महिलाले प्रहरीको धम्कीकै कारण परीक्षण गर्न मानेकी थिईनन्।

सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले भने महिलाले आरोप लगाए पनि आन्तरिक अनुसन्धान गर्दा त्यस्तो नदेखिएकाले बताए। लिखित उजुरी लिएर जाँदा पनि प्रहरी अधिकृतकै विरुद्धको मुद्दा सहजै दर्ता गर्न नसकिने उनले उत्तर दिएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका ईन्स्पेक्टरले भने हामीले पनि आज मात्रै पत्रपत्रिकाबाट घट्ना वारे जानकारी बताए।