ललिता निवास प्रकरणमा नेपाललाई फँसाउन खोज्नु गठबन्धन र पार्टीलाई कमजोर बनाउन गरिएको षड्यन्त्र हो : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत्याउने बताए ।

उनले भने, ‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडि हो ।’

गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरु सक्षम रहेको बताए। उनले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा गरे । उनले सबैभन्दा क्लिन नेताहरु नेकपा एसमै भएको दाबी गरे ।