पहिरोमा परि दुई वटा घर र चार वटा गोठमा क्षति

काठमाडौं । खोटाङमा पहिरो जाँदा दुई वटा घर र चार वटा गोठमा क्षति पुगेको छ ।

गएराति गएको पहिरोले खोटाङको चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङ र ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घर पुरेको हो ।

पहिरोले बुद्धिमान तामाङको घरमा पूर्णरुपमा क्षति पुग्दा तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

यस्तै, चार वटा गोठ पुरिँदा दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका उनले बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विक, खोटेहाङ गाउँपालिका–८ सिमपानीका राजेन्द्र प्रधान, साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राई र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका देवेन्द्र राईको गोठ पहिरोले पुरेको हो ।