सरकार कुनै ठोस नीति लिएर अघि बढ्न सकेको छैन, परम्परागत नीतिमै सिमित छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारसँग कुनै नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।

समाजवादी प्रेस संगठनको दोस्रो स्थापना भेलालाई सम्बोधन गर्दै सरकारले अहिलेको समस्या समाधान गर्नको लागि कुनै ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिले सरकारको कुनै ठोस नीति लिएर अघि बढ्न सकेको छैन । परम्परागत नीतिमै छ । अहिलेका नीति, कार्यक्रम र बजेटहरूमा मैले नयाँ कुरा केही देखेको छैन । उही हिजोको नवउदारवादी चिन्तनको धरतलबाट नै सरकार दौडिरहेको छ ।’

उनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनिएपनि कतै कार्यान्वयन नभएको बताए । उनले शर्तसहितको कुनै पनि रकम स्वीकार्य नहुने सुनाए ।

उनले भने, ‘देशको स्वतन्त्रताविरुद्धको शर्त कुनै मान्य हुँदैन । त्यो हाम्रो राष्ट्रियता र स्वभाविमानको विरुद्ध हुन्छ । त्यसैले एमसीसी इन्डोप्यासिफिक स्टाटेजिको अंग भएपछि हामीले विरोध गरेका हौं ।’