आफ्नो इज्जतमाथि आँच आउने समाचार पोस्ट गरेको भन्दै गायिका अधिकारीले दिईन उजुरी

काठमाडौं । गायिका समिक्षा अधिकारीका आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने समाचार लेखेर पोस्ट गरेको भन्दै चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा उनले आईतवार उजुरी गरेकी हुन।

‘ताजा खबर,’ ‘ग्लोबल नागरिक’, ‘हाम्रो लर्निङ सेन्टर’ र ‘रुटिन अफ बुटवल बन्द’ नामका फेसबुक पेज विरुद्ध उजुरी दिएकी हुन। उनले आफ्नो विषयमा अतिरञ्जित कुरा लेखी हुँदै नभएको कुराहरु बिना प्रमाण समाचारका रुपमा प्रेषित गरेको र त्यस्तो कार्य साइबर अपराधसम्बन्धी घटना भएकाले कानुनबमोजिम कारबाहीको माग गरेकी छिन्।

‘कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ’– अधिकारीले उजुरीमा लेखेकी छिन्।

आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गरेर मानसिक यातना दिएको उनको निवेदनमा उल्लेख छ। उजुरीमा ती फेसबुक पेजबाट पोस्ट भएका सामग्रीको स्क्रिनसट प्रहरीलाई बुझाईएको छ।

अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई कालो सूचीमा राखेको भन्ने झुटो खबर फैलाइएकाले त्यसको प्रतिवाद स्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन् ।

कतिपय अनलाईनले गायिका अधिकारी केही महिनाअघि सांगीतिक कार्यक्रममा सहभागिता जनाउन अष्ट्रेलिया जाँदा केयर टेकरका रुपमा आफ्नी दिदीलाई लिएर गएको र फर्केर आउँदा दिदीलाई उतै छोडेको भन्दै समाचार लेखेका थिए।

गायिका अधिकारी फेरी तीजका कार्यक्रममा सहभागिता जनाउन अष्ट्रेलिया जान लागेको र केयर टेकरका रुपमा अर्को मान्छे लाने तयारी गरेपछि अष्ट्रेलियाको दुतावासले कालो सूचिमा राखेर उनको भिषा रद्द गरिदिएको समाचारमा उल्लेख थियो।