प्रधानमन्त्री भन्छन् : सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको छ

फाईल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गोरखा फुजेलकी गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ मा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेर द्वन्द्वकालीन घटनाको न्यायिक सम्बोधन गर्ने बताए ।

एमालेका सांसद एकनाथ ढकालको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संसद्‍मा रहेका विधेयक पारित गरेर अगाडि बढ्नुपर्ने बताए । उनले गंगामाया अधिकारीलाई सेवा सरकारबाट भइरहेको पनि जानकारी दिए ।

द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशीघ्र सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी सदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने कुरामा सरकार विश्वस्त रहेको छ,’उनले भने, ‘प्रचलित कानुनी व्यवस्थाको अधिनमा रही नेपाल सरकार तथा अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइ नै रहेका छन् । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको पनि जानकारी गराउन चाहन्छु ।’

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीनमा माओवादीका कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए । गंगामाया हाल वीर अस्पतालमा अनशनमा रहेकी छन् ।