कसैलाई बचाउने कसैलाई फसाउने नियतले भ्रष्टाचारको फाइल खोलिएको होइन : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले सोधको प्रश्नको जवाफ दिँदै सरकार टिकाउनलाई भ्रष्टाचारको फाइल नखोलेको प्रष्ट पारे।

उनले भने, ‘यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ।’

भुटानी शरणार्थीसहित सबै काण्डमा राज्यले दबाबरहित ढंगले काम गरेकै कारणले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको दाबी गरे।

उनले भने, ‘अहिले त्यो सम्बन्धी मुद्दा अदालतमा छ। उचित फैसला गर्छ भन्ने विश्वास लिएको छु। सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार प्रयास गरिएको छ।’

उनले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको प्रष्ट्याए। उनले दोषी नउम्किन र निर्दोष नफसोस् भन्ने ढंगले काम गर्न निर्देशन दिएको बताए।

उनले छानबिनको क्रममा आफ्नो पार्टीको नेता मात्रै नभएर आफैँ पनि प्रधानमन्त्री नै आउँछ भने पनि छाड्न आवश्यक नभएको बताए।