काठमाडौँका १९ अस्पतालमा एक हजार ७७८ कोरोना संक्रमित उपचाररत, यस्तो छ विरामीको अवस्था !

काठमाडौँ । काठमाडौँ उपत्यकाका १९ वटा अस्पतालमा एक हजार ७७८ जना कोरोना भाइरस संक्रमित उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये आइसोलेसनमा एक हजार ६८०, आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना छन्।
सबैभन्दा धेरै संक्रमित नेपाल प्रहरी अस्पतालमा छन्। त्यहाँ ३८७ जना संक्रमित उपचाररत छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४३ जना उपचाररत रहेकोमा २९ जना आइसोलेसनमा, १० जना आईसीयूमा र चार जना भेन्टिलेटरमा छन्।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० जना संक्रमित आईसीयूमा र एक जना भेन्टिलेटरमा छन्। उक्त अस्पतालमा १९८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६४ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये ६ जना आईसीयूमा दुई जना भेन्टिलेटरमा र अन्य आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ९९ जना संक्रमितमध्ये ९० जना आइसोलेसनमा, पाँच जना आईसीयूमा र चार जना भेन्टिलेटरमा छन्।

कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २१७ संक्रमित उपचाररत छन्। उक्त अस्पतालमा संक्रमितलाई आईसीयू र भेन्टिलेटर आवश्यक नपरेको अस्पतालले जनाएको छ।

काठमाडौं मेडिकल कलेजमा उपचाररत ४३ जना संक्रमितमध्ये पाँच जना आइसीयुमा छन् भने अन्य आइसोलेसनमा छन्।

धुलिखेल अस्पतालमा १८ जना संक्रमितमध्ये एक जनामात्रै आईसीयूमा उपचाररत छन्।

वीरेन्द्र सैनिक अस्पतालमा १०३ जना आइसोलेसन र ११ जना आईसीयूमा गरी एक सय १४ जना संक्रमित उपचाररत छन्।

भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३ जना, खरिपाटी आइसोलेसन सेन्टरमा ७६ जना, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र काभ्रेमा ७१ जना संक्रमित आइसोलेसनमा छन्।

वीर अस्पतालमा उपचाररत ६४ संक्रमितमध्ये चार जना आईसीयूमा छन्।

इचंकु नारायण आइसोलेसन सेन्टर रानीवनमा ५९ जना, महेश मनमोहन अस्पताल दहचोकमा १६४ जना, सिर मेमोरियल अस्पताल बनेपामा आठजना संक्रमित आइसोलेसनमा छन्।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा २२ जना संक्रमित उपचाररत छन्। उनीहरुमध्ये १६ जना आइसोलेसनमा, दुई जना आईसीयूमा र चार जना भेन्टिलेटरमा छन्।

ह्याम्स अस्पतालमा ५१ जना संक्रमित उपचाररत रहेकामा ३६ जना आइसोलेसनमा, नौ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् भने मेघा अस्पतालमा ३५ जना आइसोलेसनमा, १२ जना आइसीयुमा गरी ४७ संक्रमित उपचाररत छन्।

काठमाडौं उपत्यकामा बुधबारसम्म नौ हजार ४४० जनामा कोरोना संक्रमण भएको छ।

भक्तपुरमा ८१८, काठमाडौंमा सात हजार ६११ र ललितपुरमा एक हजार ११ जना कोरोना भाइरस संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ।