५० ओडिआई खेल्ने तेस्रो नेपाली क्रिकेटर सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध आफ्नो ५०औँ ओडिआई खेल खेल्दै छन् । उनी ५० एकदिवसीय खेल खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि यो उपलब्धि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले हासिल गरिसकेका छन् । सन्दीपपछि आरिफ शेख र सोमपाल कामीले समान ४७ ओडिआई खेल खेलेका छन् ।

सन्दीपले अहिलेसम्म ४९ ओडिआईमा सर्वाधिक १११ विकेट लिनुका साथै ३ सय ६७ रन बनाएका छन् । उनले सन् २०१८ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।

एसिया कपमा नेपाल र पाकिस्तानबीचको खेल अपरान्ह ३ः१५ देखि मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार भारतविरुद्ध खेल्ने तालिका छ ।