किशोरीलाई भारततर्फ लैजाँदै गरेका ६ पक्राउ

काठमाडौँ । किशोरीलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेका ६ जना पक्राउ परेका छन्। किशोरीलाई मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेका उनीहरूलाई बुधबार राति सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–५ की १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका–८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल छन्।

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको टोलीले उनीहरुलाई परोहा नगरपालिका–७ चिरान चोकबाट राति १ बजे पक्राउ गरेको हो।

बीआर०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सातजना भारततर्फ गइरहेका अवस्थामा शंका लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पक्राउ परेकाहरुले किशोरीको घरबाट विवाह गरिदिन अस्वीकार गरेपछि भारत गएर बिहे गर्ने सहमतिमा जान लागेको बयान दिएको बताए। सातैजना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ।