पाँच दिनदेखि सम्पर्कविहीन भएका सेनाका मेजर अझै भेटिएनन्

काठमाडौं । आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।

दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘नेपाली सेना, प्रहरीहरूले पाँच दिनदेखि खोजी कार्य जारी राख्नुभएको छ। उहाँ सम्पर्कमा आउनुभएको छैन,’ पोखरेलले भने।

आइतबार ४ः५५ बजे बडीगार्ड छाडेर हिँडेका पण्डितको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको जिल्ला प्रहरी प्रमुख शिव बुढाथोकीले जानकारी दिए।

जिल्लाका सम्भावित सबै ठाउँ खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए।

पण्डित काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन्।