महिला विश्वकप छनोट : नेपालद्धारा बहराइन ३१ रनमै अलआउट

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध नेपाली बलरले घातक बलिङ गरेका छन् । मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले बहराइनलाई १५.४ ओभरमा ३१ रनमै अलआउट गर्‍यो ।

बहराइनका लागि दीपिका रासंगिका (११) ले मात्र दोहोरो अंकमा रन जोड्न सकिन् । उसका ५ ब्याटर शून्यमै आउट भए । बहराइनलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि इन्दु वर्माले ४ ओभरमा दुई मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् ।

यस्तै, खुसी डंगोलले १.४ ओभरमा बिना रन २ विकेट हात पारिन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ र दिएर १ विकेट लिइन् । पूजा महतो र रुबिना क्षेत्रीको नाममा पनि एकरएक विकेट रह्यो ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बिहीबार आयोजक मलेसियालाई ५ रनले हराएको थियो । नेपाल बहराइनविरुद्ध पनि जित निकाल्ने योजनामा छ ।

बहराइन पनि लगातार दोस्रो जितको खोजी हात पार्ने दाउमा छ । उसले पहिलो खेलमा कतारलाई ५ विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।