भारतको सूर्य अभियानअगाडि मन्दिरमा पूजापाठ, शनिबार अन्तरिक्षतर्फ पठाइँदै आदित्य–एल१

काठमाडौं । भारतले शनिबार पहिलोपटक सूर्य अभियानअन्तर्गत अन्तरिक्ष यान अन्तरिक्षतर्फ पठाउँदै छ ।

भारतीय अन्तरिक्ष संस्था इस्रोका अनुसार आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको सतिस धवन स्पेस स्टेसनबाट सूर्यको अध्ययनका लागि पहिलो अभियानअन्तर्गत आदित्य–एल१ अन्तरिक्ष यान प्रक्षेपण गरिनेछ ।

इस्रोका प्रमुख सूर्य अभियानअगाडि पुजापाठमा होमिएका छन् । पीटीआईका अनुसार इस्रो प्रमुख एस सोमनाथ तिरुपतिस्थित चेंगलम्मा परमेश्वरी मन्दिरमा भगवानको पूजा गर्न पुगेका छन् ।

पूजापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका छन्, ‘पीएसएलभी–सी५७ आदित्य–एल१ मिसनको काउन्टडाउन आजदेखि सुरु भएको छ । यो भोलि बिहान ११ः५० बजे प्रक्षेपण गरिनेछ । स्याटेलाइटलाई आवश्यक स्थानमा पुग्न एक घण्टा लाग्नेछ । त्यसपछि आदित्य–एल१ लाई पृथ्वीबाट निश्चित बिन्दुमा पुग्न १२५ दिन लाग्नेछ । प्रक्षेपण गर्नुअघि, म चेङ्गलम्मा परमेश्वरी मन्दिरमा आशीर्वाद लिन आएको छु ताकि हामी यो महत्त्वपूर्ण मिसनमा पनि सफलता पाउन सक्छौँ ।’

अन्तरिक्षयानले सातवटा पेलोड बोक्ने छ जसले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको बाहिरी तहको अध्ययन गर्नेछ ।

प्रधानमन्त्री मोदीले अगस्ट २३ मा चन्द्रयान–३ को सफलतापछि सूर्य अभियानको विषय उल्लेख गरेका थिए ।