शैक्षिक प्रमाणपत्र नक्कली बनाएर जागिर खाने एक अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको आरोपमा एक जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेमा कार्यरत अधिकृत (छैटौं तह) हीमकुमारी सुनार पुनविरुद्ध अख्तियारले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको उजुरीका आधारमा छानबिन गर्दा उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी रा.प.अनं द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भै हाल अधिकृतस्तरको छैटौं तहमा कार्यरत रही लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले उनलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।