बाँझो रहेको जमिन गाँजाखेतीका लागि प्रयोगमा ल्याउन सकिन्छ : आरजु राणा

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाखौँ हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् ।

उनले गाँजा खेतीसम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘गाँजाखेती बारे वैज्ञानिक र शैक्षिक अनुसन्धान भइरहेको छ । यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन । यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, त्यसलाई यो सँग जोडेर गृह मन्त्रालयको मानिससँग पनि कुरा गर्नुपर्छ । हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौँ ।’

यस्तै, उनले योभन्दा अगाडि गएका प्रस्तावहरुले के सुधारहरु गरे के भइरहेको छ भन्ने विषयमा सबै मन्त्रालयलाई पत्रचार गरेर छलफल गर्न आवश्यक भएको पनि बताइन् ।

कार्बन टे«डका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निर्माण गरेको छ त्यसको बारेमा पनि अध्ययन गर्नु आवश्यक भएको उनको भनाइ छ ।

समितिको आजको बैठकमा हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो ।