पाथीभरा मन्दिरमा ३ करोड १९ लाख भेटी सङ्कलन

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय भेटी सङ्कलन भएको हो । नोट पैसा २ करोड ८५ लाख ६२ हजार ४ सय ९८, सिक्का सटहीबाट ८ लाख १५ हजार६ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४ सय तीन र भेटीबापतको भारु १० लाख ८४ हजार ३ सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो । उनले समितिको कोषमा ७ करोड ८८ लाख १० हजार २ सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वाले जानकारी दिए ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।