एसिया कप क्रिकेट : भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा भारतसँग पाजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग पराजित भयो । जितपछि भारत सुपर फोरमा पुगेको छ ।

श्रीलंकाको पाल्लेकेले मैदानमा नेपाल १० विकेटले पराजित भयो । नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै २३० रन बनाएको थियो । तर, भारतले ब्याटिङ गर्दा वर्षा भएपछि खेल डकवथ लुइस प्रणालीअनुसार २३ ओभरमा छोट्याइएको थियो । भारतले २३ ओभरमा १४५ रनको संशोधित लक्ष्य पाएको थियो । भारतले विना क्षति २०।१ ओभरमा लक्ष्य पूरा गरेको हो । भारतका लागि कप्तान रोहित शर्माले ७४ रन र शुभमन गिलले ६७ रन बनाए ।

नेपालका कुनै पनि बलरले प्रभावित पार्न सकेनन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका लागि १० ओभरमा ६५ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए भने सोमपाल कामीले ४८ रनको योगदान दिए । यस्तै कुशल भुर्तेलले ३८ रन बनाउँदा गुलसन झाले २३ रन बनाए । अन्य ब्याटरले राम्रो स्कोर बनाउन सकेनन् ।

भारतीय बलिङ आक्रमणका अगाडि नेपाली ब्याटरले देखाएको खेलको भारतीय क्रिकेट दिग्गजहरूले पनि प्रशंसा गरेका छन् ।