राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरको दर्शन

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पौडेल आज बुधवार पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका हुन् ।

त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र नम्बर १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवम् भक्तजनले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अवलोकन पनि गरे । उनलाई महानगरका मेयर महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भिड लाग्ने गर्छ ।