२ मतले गर्दा गुम्यो एमाले लुम्बिनी अध्यक्ष हारेका रिजालको केन्द्रीय सदस्य पद

काठमाडौं । एमाले लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा पराजित भएका नेता हरि रिजालको पार्टी केन्द्रीय सदस्य पद गुमेको छ।

कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार बने स्वतः पद रिक्त हुने व्यवस्था एमाले विधानको धारा ६७ ९४० मा छ।

एमाले विधानको सोही व्यवस्थाअनुसार रिजालको केन्द्रीय सदस्य पद गुमेको हो।

पार्टीको मंगलबार भएको आन्तरिक निर्वाचनमा रिजाल प्रतिस्पर्धी राधाकृष्ण कँडेलसँग एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा २ मतान्तरले पराजित बनेका थिए।

कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत मात्रै प्राप्त ल्याएका थिए।

रुपन्देहीको बुटवलमा सम्पन्न एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमति नजुटेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान भएको थियो।

कँडेल र रिजाल आ आफ्नो छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन्।