भ्रष्टाचारको मुख्य केन्द्र बन्दै स्थानीय तह : सप्तरीका १८ मध्ये ४ पालिका प्रमुख निलम्बित

काठमाडौं । मधेश प्रदेशस्थित सप्तरी जिल्लाका १८ पालिकामध्ये ४ वटा पालिकाका प्रमुखहरूले एकसाथ भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले जरिवाना नै गरिसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह, शम्भुनाथ नगरपालिकाका मेयर जीतेन्द्रप्रसाद गुप्ता र विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरू निलम्बित अवस्थामा छन् ।

निलम्बनमा परेकामध्ये विष्णुपुर गाउँपालिकाका अध्यक्ष गुप्ता नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने बाँकी ३ जना जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका हुन् ।

राजविराजका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजविराज नगरपालिकाका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । विशेष अदालतले २०८० भदौ १ गते भ्रष्टाचार मुद्दामा आंशिक ठहर गर्दै मेयर यादवलाई २ लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना गरेको हो ।

यादव २०७४ र/२०८० सालको स्थानीय तह निर्वाचनमा लगातार मेयर पदमा निर्वाचित भएका थिए । मेयर पदमा निर्वाचित हुनुअघि उनी ठेकेदार थिए । न्यू गाहिल कन्स्ट्रक्सन प्रालिका नामबाट उनले ठेक्का लिने गर्थे । सोही क्रममा आर्थिक वर्ष २०७३/०७४ मा राजविराज रंगशाला स्तरोन्नति कार्यका लागि लिएको ठेक्कामा फिल्डमा भएको कामभन्दा बढी भुक्तानी लिएको कसूरमा दोस्रोपटक निर्वाचित भएपछि उनी दोषी ठहर भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति सप्तरीले आर्थिक वर्ष २०७३/०७४ मा रंगशाला स्तरोन्नति कार्यका लागि न्यू गाहिल कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । यादवले लिएको उक्त ठेक्कामा फिल्डमा कम काम भए पनि बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गराई कार्य सम्पन्न भएको भन्दै २ लाख ६३ हजार ४६८ रुपैयाँ बढी रकम भुक्तानी लिएका थिए ।

सोही मुद्दामा उनलाई विशेष अदालतले जरिवाना गरेको हो ।

अख्तियारले २०७९ असार २९ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गर्दा यादव नगर प्रमुख भइसकेका थिए ।

निलम्बित रहेकै अवस्थामा उनी दोस्रोपटकको स्थानीय निर्वाचनमा पुनः निर्वाचित भए । मुद्दा पहिलेदेखि नै विचाराधीन अवस्थामा रहेका कारण मेयर यादव दोस्रोपटक निर्वाचित भए पनि पदभार ग्रहण गर्न भने पाएनन् । दोस्रोपटक मेयर बन्दा पनि झन्डै १ वर्ष निलम्बित अवस्थामै रहेका यादवलाई गत भदौ १ गते विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना गरेको हो ।

बोदेबर्साइन नगरपालिका प्रमुख सिंहविरुद्ध १४ लाख ७१ हजार भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० भदौ १३ गते बोदेबर्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंहले १४ लाख ७१ हजार ९२१ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजित बजेटमा अनियमितता भएपछि अख्तियारले मुद्दा दर्ता गरेको हो ।

उक्त परियोजनाका लागि नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी नगरपालिकाको वडा नम्बर ६ फूलकाहीमा कार्यक्रम सञ्चालन गरेको थियो ।

नगरपालिकाले उक्त समूहसँग सम्झौता गरी कार्यादेश पनि दिएको थियो । तर, काम नै नभए पनि मेयर आफैंले योजनाको स्थिति राम्रो रहेको भनी गलत स्थलगत अनुगमन प्रतिवेदन पेश गरे ।

नगर प्रमुख सिंह, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले झूटो स्थलगत अनुगमन गरी योजनाको अवस्था राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको आधारमा उक्त समूहको खातामा १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरिएको थियो ।

उक्त कार्यक्रमका लागि नगरपालिकाले नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुनप्रसाद यादवलाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकेको थियो ।

यादवले नै लागत अनुमान तयार गरी कृषक समूहसँग सम्झौता गरेका थिए । साथै उनले झूटो बिल भरपाई बनाई पेश गरेका थिए ।

काम नभएको थाहा हुँदाहुँदै राम्रो काम भएको भनी स्थलगत अनुगमन प्रतिवेदन पेश गरेर जगदम्बा कृषक समूहको खातामा १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी भएको थियो ।

अख्तियारले उक्त मुद्दामा नगरप्रमुख सिंह, तत्कालीन वडाध्यक्ष चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य भगत, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, पशु विकास अधिकृत यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह, कोषाध्यक्ष निलम कुमारी शर्मासहित आठजनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो । मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

१ लाख ४० हजार घुस लिएको मुद्दामा शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता निलम्बित

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जीतेन्द्रप्रसाद गुप्ता सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको मुद्दामा अहिले निलम्बित छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ फागुन १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित अवस्थामा रहेका हुन् ।

विद्यालयको सभाहल निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका इन्जिनीयर रामचन्द्र साहलाई २०७९ माघ ३ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा नगर प्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलेमतोमा उक्त सेवाग्राहीसँग घुस रकम लिएको पाइएपछि गुप्ता र साह दुवैजनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

५ लाख घुस लिएको आरोपमा विष्णुपुर गाउँपालिका अध्यक्ष यादव निलम्बित

५ लाख रुपैयाँ घुस रकम लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव २०८० भदौ १९ गतेदेखि निलम्बित छन् । भदौ १९ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्बित भएका हुन् ।

२०८० साउन ३१ गते अख्तियारको टोलीले सेवाग्राहीबाट २ लाख नगद र ३ लाखको चेक लिइसकेको अवस्थामा उक्त गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।

सोलार बत्ती जडानलगायत आयोजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारको अभियोगपत्रमा छ ।

अनुसन्धानको सिलसिलामा ती दुवैजनाले गाउँपालिका अध्यक्ष यादव समेतको आपसी मिलेमतोमा उक्त रकम लिएको पाइएपछि अध्यक्ष यादवसहित तीनैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख साह भन्छन् : सप्तरीका स्थानीय तह भ्रष्टाचारको ‘इपिसेन्टर’ नै बने

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह सप्तरीका स्थानीय तह भ्रष्टाचारको ‘इपिसेन्टर’ नै बनेको बताउँछन् ।

‘अहिले चारवटा पालिका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि त्यो कुरा झन् सतहमा आइपुगेको छ,’ साहले लोकान्तरसँग भने, ‘अख्तियारले चारवटा पालिका प्रमुखविरुद्ध मात्र मुद्दा दायर गरेको छ, जबकि १८ वटै पालिकामा भ्रष्टाचार व्याप्त छ ।’

कमिसन नलिई कामै नगर्ने, कम काम भए पनि बढी काम भएको भनी भुक्तानी गर्नेसहितका विकृति हरेक पालिकामा बढेको उनले बताए । अख्तियारले स्टिङ अपरेसन गर्न लग्दा पालिका प्रमुखदेखि कर्मचारीहरू सतर्क भएको उनले बताए ।
लोकान्तर