काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग जवाफ मागेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।
यस सम्बन्धमा अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने उनको माग छ ।
उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् ।
यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद चन्दा कार्कीले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको बताइन् ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् । सरकारले ध्यान नदिनु नै ठूलो गल्ति भएको उनको भनाइ छ ।
Add Comment