हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा सुरू

काठमाडौं । विराटनगरको साँस्कृतिक वैभव बोकेको राधाकृष्ण रथयात्रा सुरू भएको छ।

राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपूर्वक नगर परिक्रमा गराउने कार्यक्रम छ।

आजको रथयात्रा कार्यक्रममा देशका विभिन्न नगर, महानगर र उपमहानगरका मेयर–उपमेयर पनि सहभागी छन्।

नगरहरूको संस्था सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको भेलामा सहभागी हुन देशका विभिन्न नगरका प्रमुख–उपप्रमुख दुई दिनदेखि विराटनगरमै छन्। उनीहरूले यही अवसरमा रथयात्रामा सहभागिता जनाएका हुन्।

आज सुरू भएको रथयात्रा ५५ औं संस्करणको हो। ५५ वर्षयता विराटनगरमा हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो।

वि।स। १९८८ मा खटयात्राबाट सुरू भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरू सहभागी बनेका छन्।

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरमा सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ।