गायक प्रमोद खरेलले जिते विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको मुद्दा

काठमाडौं । प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो । उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने छ ।

गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।

के हो  विवाद 

गायक खरेलले २०६७ सालमा ‘प्रणय’ नामक एल्बम सार्वजनिक गरे । जुन एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको थियो । एल्बममा समावेश गीत तथा भिडियो निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रुपैयाँ नगद दिएको थियो ।

एल्बमको सर्वाधिकार पाँच वर्षसम्मका विन्ध्यवासिनीसँग रहने दुईपक्षीय सहमति थियो । विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा लगानी सुरक्षित नभएसम्म एल्बमबाट आएको पैसामा प्रमोदले दाबी गर्न नपाउने लेखिएको छ । लगानी सुरक्षित भएपछि भने आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने सहमति थियो ।

सम्झौतापत्रअनुसार प्रमोद र विन्ध्यावासिनी म्युजिकबीचको सम्झौता २०७१ साल चैतमा सकिएको छ । त्यसपछि प्रमोदले कम्पनीका सञ्चालक सुवास रेग्मीसँग आफ्नो एल्बमको सर्वाधिकार मागे । सञ्चालक रेग्मीले प्रमोदको माग सुनेनन्, सुन्न चाहेनन् ।

बरु यो विवादपछि रेग्मीले उल्टै प्रमोदविरुद्ध प्रहरीमा उजुरी दिए । आफ्नो कम्पनीले निर्माण गरेको गीतसंगीत बिनाअनुमति प्रमोदले स्टेजमा गाउँदै हिँडेको भन्दै रेग्मीले १ करोड क्षतिपूर्ति माग राखेर उजुरी दिएका थिए । त्यसपछि प्रमोदले पनि कानुनी बाटो रोजेका हुन् ।

यसैबीच आफूले मुद्दा हारे पनि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले गायक खरेललाई बधाई दिएका छन् । ुजय गीत, जय संगीत । बधाई छ प्रमोद भाइु, उनले सामाजिक सञ्जालमा लेखेका छन् । साथै उनले फैसलाको पूर्णपाठ पाएपछि थप कानुनी प्रक्रियामा जाने पनि बताएका छन् ।