वायुसेवा कम्पनी २५ प्रतिशत उडान गर्दै , सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौँ । ५ असोजदेखि सुरु हुने आन्तरिक उडानमा वायुसेवा कम्पनीले साविक उडानको २५ प्रतिशत मात्रै उडान गर्ने भएका छन्।

सेप्टेम्बर महिनाभरी अर्थात् १४ असोजसम्म २५ प्रतिशत उडान गर्ने र त्यसपछि यात्रु संख्याको आधारमा थपघट हुने वायु सेवा सञ्चालक संघ नेपालले जनाएको हो।

उडान भने सबै विमानस्थलमा हुनेछ। उडानका क्रममा पूरै सिटमा यात्रु राख्न पाइने भएको छ।

यसअघि सरकारले भाडा बढाएर ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न भनेपछि वायु सेवा सञ्चालक संघले उडान गर्न नसकिने बताएको थियो।

भाडा बढाउँदा यात्रुले धान्न नसक्ने भन्दै यात्रु पूरा राख्न पाउनुपर्ने तर भाडा नबढाउने संघले अडान लिएको थियो।

संघको अडानलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई नियमित उडान सुरु गर्न आग्रहसहितको पत्र पठाएको छ।

मन्त्रालयको पत्र पाएपछि वायु सेवा कम्पनीहरूले उडान तालिका सार्वजनिक गरेर न्यूनतम भाडादरमा उडान गराउने तयारी गरेका छन्।

उडानको क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्ड पालना हुने संघले जनाएको छ।

यात्राका क्रममा सबै यात्रुले मास्क र फेससिल्ड अनिवार्य लाउनुपर्ने छ। सामान्य रुघा, खोकी वा ज्वरो आएको व्यक्तिले यात्रा गर्न पाउने छैन।