भ्रमणलाई सफल बनाउन सबै राजनीतिक दल सहमत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक दलहरू सहमत भएको सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन् ।

भ्रमणको पूर्व सन्ध्यामा एजेन्डाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा उठेका एजेन्डालाई सरकारले गम्भीर रूपमा लिएको बताए ।

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘बैठकमा आएको सल्लाह र सुझावलाई सरकारले महत्त्वपूर्ण रूपमा लिएको छु । आसन्न भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक तह तप्कामा सहमत भएको सन्देश सबैमा दिन चाहन्छु ।’

बैठकमा पूर्व प्रधानमन्त्रीहरुसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी थिए ।

यस्तै, बैठकमा रास्वपाको तर्फबाट लिखित रूपमा ७ वटा लिखित सुझाव दिएको उपसभापति डिपी अर्यालले बताए ।

उनले भने, ‘नक्साको विषयमा पनि हामीले चासोका साथ जानकारी गराएका छौँ। जनताले थाहा पाउने गरी आफ्नो देशको धारणा राख्न भनेका छौँ। नाका खुलाउनेबारे पनि ध्यानाकर्षण गराएका छौँ ।’