लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै बाराको निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका-१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् । ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छविलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरि बस्ने २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।