ललित राजवंशीलाई भारतीय व्यवसायी मित्तलले ब्याट उपहार दिने

काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । एसिया कपको दुवै खेलमा नेपाली टोली आफूभन्दा निकै बलिया प्रतिद्वन्द्वीसँग पाकिस्तान र भारतसँग पराजित भयो ।

प्रतियोगितामा नेपाली खेलाडीले खेल नजिते पनि असङ्ख्य क्रिकेट प्रेमीको मन भने जित्न सफल भए । खासगरी भारतविरुद्धको खेलपछि नेपाली खेलाडीले गतिलो चर्चा बटुले । भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि विश्वभर नेपाली खेलाडीको चर्चा चुलिन पुग्यो ।

भारतीय टोलीका खेलाडी र समर्थकहरूले समेत मुक्त कण्ठले नेपाली खेलाडीको खेलको प्रशंसा गरे । खेलपछि भारतीय टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली खेलाडीलाई मेडल पनि लगाइदिए । विराट कोहली, कप्तान रोहित शर्माजस्ता प्रभावशाली खेलाडीले नेपाली खेलाडीसँग क्रिकेटको विषयमा केन्द्रित रहेर कुराकानी पनि गरे ।

एसिया कपपछि एक प्रसङ्गमा नेपाली टोलीका खेलाडी ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गतिलो ब्याट्समेत नरहेको बताएका थिए । २४ वर्षीय राजवंशीले भनेका थिए, ‘मसँग नेटमा अभ्यास गर्ने एउटा ब्याट छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मसँग ब्याट छैन । त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा म साथीहरूसँग ब्याट मागेर खेल्छु । खासगरी कुशल भुर्तेलसँग ब्याट लिएर म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु ।’

राजवंशीको उक्त भनाइलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो । आईसीसीले भारतीय टोलीका कप्तान शर्मा र नेपाली खेलाडी राजवंशीको तस्बिरसहित उक्त पोस्ट सार्वजनिक गरेको थियो ।

त्यसपछि भारतका एक चर्चित व्यवसायी अनुपम मित्तलले उक्त पोस्ट पढेर त्यसमा चासो व्यक्त गरेका थिए । उनले ‘ललित राजवंशीलाई कस्तो सहयोग चाहिएको हो रु’ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा आईसीसीले ‘ललित राजवंशीजस्तो उदीयमान खेलाडीलाई प्रायोजन गर्न सके राम्रो हुन्थ्यो’ भनेर जवाफ फर्काएको थियो ।

त्यसपछि भारतीय व्यवसायी मित्तलले आफू राजवंशीलाई ब्याट प्रायोजन गर्न तयार रहेको बताएका थिए । ‘कृपया, ललित राजवंशीलाई मसँग सम्पर्क गर्न भन्नु । उहाँलाई ब्याट प्रायोजन गर्न पाएमा म खुसी हुनेछु,’ मित्तलले भनेका छन् ।