भेरी नदीमा एक जनाको शव फेला, १७ दिन हराइरहेका मेजर पण्डितको हुन सक्ने आशंका

काठमाडौं । डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ । उक्त शवको पहिचान भने खुलेको छैन । तर, केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएका थिए ।

मंगलबार भेटिएको उक्त शव मेजर पण्डित हुन सक्ने आशंका गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । मेजर पण्डित यही भदौ १० मा त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १७ दिन पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘भेरी नदीमा भेटिएको लाशको भने पहिचान हुन सकेको छैन् । मेजर पण्डितको लाश हो कि भन्ने आशंका भने गरेका छौं । अनुसन्धान भइरहेको छ ।’

मेजर पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका हुन् ।