बेपत्ता भएको १६ दिनपछि भेरी नदीमा मृत भेटिए मेजर विमल पण्डित

काठमाडौं । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपती मेजर विमल पण्डितको शव फेला परेको छ । भदौ १० गतेदेखि सम्पर्कविहीन भएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डितको शव १६ दिनपछि भेरी नदीमा फेला परेको हो ।

पण्डितको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ खडाङ्गस्थित ठूलीभेरी नदी किनारमा भेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार पण्डितका अंकलका छोराले घडी र औँठीबाट पहिचान गरेको तर, सनाखत हुन भने बाँकी छ । पण्डितका बुवालाई शव देखाएपछि मात्रै सनाखत हुने शाहीले बताए ।

शवको मुचुल्का उठाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिएको छ भने पण्डितका बुवा किरण पनि अस्पताल पुगेका छन् । मंगलबार बिहान स्थानीयहरूले उक्त ठाउँमा औंठी र घडी लगाएको पुरुषको शव फेला परेको खबर गरेपछि सेना र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

भदौ १० गते अपराह्न साढे ४ बजे इभिइनिङ वाकका लागि आफ्ना सुरक्षा गार्डलाई समेत निलिई हिँडेका मेजर पण्डित सोही दिनदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्क भएको भोलिपल्टबाट खोजी थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै सुराकसम्म भेटाउन सकेको थिएनन् ।

पण्डितको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जुम्लाबाट नेपाली सेनाका प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली खटिएको थियो ।