सिआइबीले भन्यो : ६० किलो सुन ल्याउनेले पहिला नै ३०२ किलो सुन तस्करी गरेको देखियो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ।

उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सिआइबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्।

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्।

फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।

एआइजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।

यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन्।

‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’

बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्।

सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।