सुन तस्करी प्रकरण : अभियुक्तलाई ल्याइयो सरकारी वकिलको कार्यालयमा

काठमाडौं । ६० किलो सुन प्रकरणका अभियुक्तलाई माइतीघर स्थित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को कार्यालयबाट दुइवटा गाडीमा राखेर सुन प्रकरणका ३२ अभियुक्तलाई माइतीघरस्थित सरकारी वकिलको कार्यालय ल्याइएको हो।

सुन प्रकरणमा अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ। प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्छ

मुद्दा दर्ता गर्दा प्रतिवादीहरूलाई पनि अदालतमा उपस्थित गराइन्छ।

६० किलो सुन प्रकरणमा सिआइबीले ५० जनालाई प्रतिवादी बनाएको छ। त्यसमध्ये १८ जना फरार रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्।

तस्करीमा संलग्न रहेकाहरूले थप ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन्।

सुन तस्करीमा संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।