दीपक र दिपाले खोले सिनेमा हल, आजैदेखि सञ्चालनमा आउने

काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज अन्तर्गत सिनेमा हल आजदेखि सञ्चालनमा ल्याइएको छ।

शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका चन्द्र ढकाल लगायत वरिष्ठ कलाकारहरुको उपस्थितिमा हलको उद्घाटन गरिएको हो।

दीपक र दिपाले सिनेमा हल निर्माणका लागि १० करोड रूपैयाँ खर्चिएको बताउँदै आएका छन्।

उद्घाटन कार्यक्रममा दीपकराज गिरीले फिल्म चलाएर आम्दानी हुने रकमको पचास प्रतिशत निर्मातालाई दिने बताएका छन्। अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएका छन्।

यो हाम्रो पहिलो व्यवसाय हो। आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं। यो एक्लै सम्भव थिएन। हाम्रो टिम नै छ। त्यसकारण आज यो सम्भव भएको हो,’ गिरीले भने, ‘शो बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन। तर चलिरहेको नेपाली फिल्मलाई हटाउँदैनौ, उनले भने।

उनका अनुसार हल ४ सय सिट क्षमताको छ। यहाँ दुइटा अडिटोरियम हल छन्।

शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो।

हलमा बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ पनि प्रदर्शन भइरहेको छ।