कसरी फैलिन्छ त निपाह भाइरसको सङ्क्रमण ? यसको उपचार के हो ?

काठमाडौं । भारतको केरल सरकारले कोझिकोड जिल्लामा निपाह भाइरसको सङ्क्रमण फैलिएपछि सबै शिक्षण संस्थानलाई बिहीबार र शुक्रवारसम्म बन्द राख्ने निर्णय गरेको छ ।

राज्य सरकारले सङ्क्रमित मानिसको सम्पर्कमा आएका मानिससम्म पुग्ने कोसिस गरिरहेको छ ।

केरलकी स्वास्थ्य मन्त्री वीणा जर्जले हालसम्म कुल तीन जनाको स्याम्पल पोजेटिभ पाएको जानकारी दिएकी छिन् । यस्तै, हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

कसरी फैलिन्छ निपाह भाइरस ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार निपाह भाइरस ल्ष्ख् (एनआईभी) एक तीव्र रुपमा फैलिरहेको भाइरस हो । यसले जनावर र मानिसमा गम्भीर रोगलाई जन्म दिन्छ ।

एनआईभी पहिलो पटक सन् १९९८ मा मलेसियाको कम्पुङ सुङ्गाई निपाहमा पत्ता लागेको थियो ।

त्यहीँबाट यो भाइरसको नाम आएको हो । त्यति बेला यो रोगका वाहक सुँगुर थिए ।

तर यसपछि, जहाँ जहाँ एनआईभीबारे पत्ता लाग्यो, यो भाइरस सार्ने कुनै माध्यम थिएन ।

सन् २००४ मा बङ्गलादेशमा केही मानिस यो भाइरसको चपेटामा आए । उनीहरुले खजुरको रुखबाट निस्कने तरल पदार्थलाई चाखेका थिए र यो तरल पदार्थसम्म भाइरस पुर्‍याउने चमेरो थिए । यिनीहरूलाई फ्रुट ब्याट भनिन्छ ।
अहिलेसम्म किन उपचार छैन ?

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पनि पुष्टि भएको छ । र यस्तो भारतका अस्पतालहरूमा भएको छ ।

मानिसमा एनआईभी सङ्क्रमणले श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग वा घातक इन्सेफलाइटिस पनि निम्त्याउन सक्छ ।

यो रोग निको पार्ने मानिस वा जनावरका लागि अहिलेसम्म कुनै सुई बनाइएको छैन ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार निपाह भाइरसको सङ्क्रमण इन्सेफलाइटिससँग सम्बन्धित छ, जसले मस्तिष्कलाई क्षति पुर्‌याउँछ ।

रोगको लक्षण के हो ?

यो भाइरसबाट सङ्क्रमित भएपछि व्यक्तिलाई ३ देखि १४ दिनसम्म उच्च ज्वरो आउने र टाउको दुख्ने समस्या हुन सक्छ ।

यस्ता लक्षणले २४ देखि ४८ घण्टामा बिरामीलाई कोमामा पुर्याउन सक्छ ।

सङ्क्रमणको प्रारम्भिक चरणमा सास फेर्न समस्या हुन्छ भने झन्डै आधा बिरामीमा न्यूरोलोजिकल समस्या पनि हुन्छ ।

सन् १९९८–९९ मा २६५ जना यो भाइरसबाट प्रभावित भएका थिए ।

अस्पतालमा भर्ना भएका यी बिरामीहरूमध्ये ४० प्रतिशत ती व्यक्ति थिए जसलाई गम्भीर स्नायु रोग भएको थियो र उनीहरूलाई बचाउन सकिएन ।

सामान्यतया, यो भाइरस चमेरो, सुँगुर वा सङ्क्रमणको जोखिममा रहेका अन्य मानिसहरूबाट मानिसमा फैलिन्छ ।

मलेसिया र सिङ्गापुरमा यो सुँगुरबाट सर्ने जानकारी आएको थियो भने भारत र बङ्गलादेशमा मानिसबाट मानिसको सम्पर्कले यसको सङ्क्रमण हुने जोखिम बढी हुन्छ ।

बीबीसी