मेयर बालेन्द्र शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमाा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाह बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए ।

त्यस्तै, कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन् ।

यस्तो छ बालेनको स्टाटसः

पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन ।
कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।
तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव छ। बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।

यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ण् क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।

यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने ,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने छ ।