एसिया कप फाइनल : श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।

टिम श्रीलंका : डसुन शानका, पथुम निशंका, कुसल परेरा, कुसल मेन्डिस †, सदीरा समरविक्रमा, चरित असालान्का, धनन्जय डी सिल्भा, दुनिथ वेलालागे, दुषन हेमन्थ, प्रमोद मदुशन, मथीशा पाथिराना।

टिम भारत : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज।

यसअघि सुपर फोरमा भारतसँग श्रीलंका ४१ रनले पराजित भएको थियो।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको ‍थियो।

फाइनलकै निम्ति भारतले विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शिराज लगायतका खेलाडीलाई बंगलादेशविरूद्ध खेलमा आराम दिएको थियो।

श्रीलंका एसिया कपको साबिक विजेता पनि हो। अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

१९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ। श्रीलंकाले ६ पटक उपाधि जित्दा ६ पटक उपविजेता बनेको छ।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारत र श्रीलंका १६६ पटक आमनेसामने भएका छन्। जसमध्ये भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ।

एसिया कपको फाइनल खेलमा श्रीलंकालाई घरेलु दर्शकको साथ हुनेछ। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।