अब १०३ प्रकारका एन्टिबायोटिक औषधि उत्पादन र बिक्री गर्न नपाइने

काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठनद्धारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो ।

नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् ।

१०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ ।

हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ ।

एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण गर्न र तथ्यमा आधारित उपचार प्रणालीलाई बढावा दिन यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।