राष्ट्रपति तथा प्रधानमन्त्री सिंहदरबार पुगेर पृथ्वीनारायणलाई पुष्पहार चढाए

काठमाडौँ। देशमा यतिखेर राजतन्त्र छैन । तर बाईसे चौविसे राज्यलाई एककिरण गरी एक ढिक्का नेपाल बनाउने प्रणेता एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान स्वरुप सरकारले सार्वजनिक विदा नै दिएको छ । नेपालमा गणतन्त्र स्थापना भएको केही बर्ष पुस २७ गते राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा कटाएको भएपनि पछिल्लो केही बर्षबाट फेरि सरकारी तवरबाट नै पृथ्वी जयन्ती मनाउन थालिएको छ ।
सिंहदरबारको पश्चिमी गेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशिला कार्कीले पुष्पहार चढाएका छन् । जयन्तीकै अवसरमा सिंहदरबार पुगेर मन्त्री, विभिन्न दलका नेताहरुले समेत पुष्पगुच्छा अर्पण गरेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरेका थिए ।

मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे ।