काठमाडौं । नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा बासले कार्कीलाई नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाई दिएका थिए ।
बासको बधाई तथा शुभकामना पछि प्रधानमन्त्री कार्कीले नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने बताएकी छिन् । राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए ।
अघिल्लो साता मात्रै मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध गराई श्रम सम्झौताको निर्णय भईसकेको र नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीले इजरायल सरकारलाई धन्यवाद दिएकी छिन् ।
भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको जनाइएको छ ।


Add Comment